बाजुराः– बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औं अधिवेशन आज सम्पन्न भएको छ । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार जगन्नाथ गाउँपालिका विकासको मूल आधार” भन्ने नाराका साथ गाउँपालिकाको केन्द्र जुड्डीमा संचालन भएको उक्त अधिवेशन सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको अध्यक्षतामा संचालन भएको अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको प्रवक्ता गणेशराज गिरीले जानकारी दिनुभएको छ । गाउँसभाले विभिन्न महत्त्वपूर्ण कार्यसूची प्रस्तुत तथा छलफल गरेको उहाँले बताउनुभयो ।
अधिवेशनमा लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, बेरुजु फछ्र्यौट कार्यविधि २०८२, गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथि छलफल भई पेश गरिएको पालिकाले जनाएको छ । दोस्रो गाउँसभा तथा १७ औं अधिवेशनमा सम्बन्धित विषयमा सम्बन्धित सदस्यहरूले प्रस्ताव पेश गरेका थिए भने छलफलपछि आवश्यक निर्णयहरू समेत गरिएको जनाइएको छ ।
गाउँपालिकाले स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यस्ता कार्यविधि तथा विधेयकहरू अघि सारेको जनाएको छ । अधिवेशनमा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले पालिकाको समग्र विकासका लागि नीति, विधि र आर्थिक अनुशासनलाई सुदृढ बनाउँदै पारदर्शी र जनमुखी सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभएको छ ।
त्यस्तै आर्थिक,प्रशासनिक तथा कार्यविधिगत प्रस्तावहरू प्रस्तुत गर्दै पारित भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले स्पष्ट पार्नु भएको छ । कार्यसूचीअनुसार प्रस्तावहरू प्रवक्ता गणेशराज गिरी, वडाअध्यक्ष धनवीर सार्की, तथा गौरी सार्की, रेशम बहादुर शाहीले पेश गरेका थिए ।
बैठकको अन्त्यमा गाउँसभाका अध्यक्षले अधिवेशन समापन गर्दै सबै सरोकारवालाको सहकार्यबाट निर्णय कार्यान्वयन हुने विश्वास व्यक्त गर्नु भएको छ ।






