कालिकोट:- जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ८ भैसिसैन बजारमा शुक्रबार बेलुका करिब ७:३० बजे माथिबाट आएको पहिरोले ठूलो क्षति पुर्याएको छ। पहिरोका कारण बजार क्षेत्रमा रहेका ६ भन्दा बढी पसलमा क्षति पुगेको हुम्ला ताजाकाेटका यात्रु मिलन खड्काले बताएका छन्।
पहिरोले बजार क्षेत्र आसपासका संरचनामा क्षति पुर्याउनुका साथै कर्णाली राजमार्गको उक्त सडक खण्डसमेत अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन अलपत्र परेका छन् भने आवतजावतमा निकै समस्या भइरहेको छ।
घटनामा हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ। यद्यपि, पहिरोका कारण स्थानीयवासी त्रसित बनेका छन्।
खड्काका अनुसार बजार व्यवस्थापन तथा जोखिम नियन्त्रणमा समयमै ध्यान नदिँदा यस्तो अवस्था सिर्जना भएको हो। समाचार तयार पार्दासम्म सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।






