बाजुरा:- नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा आसन्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनकराज गिरीले बाजुराको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । कांग्रेस उम्मेदवार गिरिले जिल्लाको समग्र विकासलाई जोड दिदै गरिबी र बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका हुन । उहाँले सोमबार पत्रकार सम्मेलन मार्फत आफ्ना एजेन्डा र धारणहरु सार्वजनिक गर्दै यस्तो बताउनुभयो ।
बाजुराको दीर्घकालीन समस्या,गरीबी, बेरोजगारी हो उहाँले भने । विशेषगरी युवाको बढ्दो वैदेशिक पलायन, कृषिको परम्परागत अवस्था, शिक्षा र स्वास्थ्य सेवामा देखिएको कमजोरीलाई समाधान गर्ने लक्ष रहेको समेत उहाँले बताए । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने तर्फ लाग्ने समेत उहाँले भन्नुभयो ।
जिल्लामा कृषि, पर्यटन, जडीबुटी र साना उद्योगको ठूलो सम्भावना रहेको छ,यसबाट रोजगारी सिर्जना गर्न जोड दिने गिरिले भन्नुभयो । कृषि प्राबिधिक शिक्षालय,कृषि उत्पादनको बजारीकरण मार्फत हजारौं युवालाई रोजगारी दिन सकिने उहाँले भन्नुभयो ।
बाजुरा उत्पादनको केन्द्र बन्न सक्छ, आवश्यक छ त नीति र नेतृत्व उनले भने ।शिक्षा र स्वास्थ्यमा सुधार क्षेत्रमा जिल्ला अस्पताल बाजुरा लगायत तिन वटा क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउनेमा आफू लाग्ने बताए । स्तरोन्नति, विशेषज्ञ चिकित्सकको व्यवस्था र गाउँगाउँमा ग्रामीण सडक सेवा विस्तार गर्ने योजना अघि सारेका छन्।
सडक,पूर्वाधार र पर्यटन क्षेत्रमा बाजुराको सडक सञ्जाल विस्तार, पुल निर्माण तथा दुर्गम बस्तीलाई यातायात सञ्जालसँग जोड्ने,ईन्टनेट कार्यलाई तीव्रता दिने बताएका छन्। साथै, धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावना बोकेको क्षेत्र बडिमालिका लगायतका स्थलहरूको प्रचार–प्रसार र पूर्वाधार विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको उनले बताए।
गिरिले आफू जितेपछि दलभन्दा माथि उठेर सम्पूर्ण बाजुरालीको साझा प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। म राजनीति गर्न होइन, बाजुरा बनाउन आएको हुँ,उनले दृढताका साथ भने। निर्वाचन नजिकिँदै जाँदा बाजुरामा राजनीतिक माहोल तातिएको छ।






